अज्ञानताको अन्धकार तब सम्म निष्क्रिय हुँदैन जबसम्म चेतनाको प्रकाश गतिशील हुँदैन । रातको कालो रङ्गले तब मात्र धर्तीलाइ लुकाउँछ जब उज्यालोले आफ्नो शक्ति मधुर गर्न थाल्छ । त्यसैगरी अन्धकार धर्ती तब मात्र प्रष्ट देखिन्छ जब सूर्यले आफ्ना उज्याला हातहरु फैलाएर अन्धकार धर्तीलाइ आलिङ्गन गर्छ ।

अँध्यारो र उज्यालोका आ–आफ्नै शैली छन् र आ–आफ्नै सिद्धान्त ! सृष्टिका हरेक प्राणी हरेक पल यो उज्यालो र अँध्यारो चेतनाको लुकामारी बीच आ–आफ्नो अस्तित्वलाई जीवन्त बनाउने प्रयासमा तल्लीन रहन्छन् । विशेष गरी मानवजातिको कुरा गर्दा मानवले आफ्नो अस्तित्वलाई स्वयंले मात्र नभएर आफू वरिपरि रहेका अन्य व्यक्ति , परिवार र समाजले पनि स्वीकार र सम्मान गरून् भन्ने भाव राख्दछ र त्यसैका निमित्त हरेक पल संघर्षमा होमिइरहन्छ ।

अस्तित्व छ र नै जीवनको अर्थ छ । अस्तित्वको कुरा गर्दै गर्दा नारी र पुरुषको अस्तित्वमध्ये कुनै एकको अस्तित्वबिना मानव संरचना नै अपूर्ण रहने कुरा हाम्रो चेतनामा व्याप्त छ । हामीमध्ये अधिकांशलाई यही ज्ञान छ कि विश्वमा केवल दुई प्रकृतिका व्यक्ति हुन्छन् ः विशुद्ध महिला र पुरुष । हामीले समाजमा सधैं यही कुरा पढदै ,सुन्दै, भोग्दै आएका छौँ र यही कुरामा विश्वस्त छौं । तर यसभन्दा बाहेक पारलिङ्गी महिला र पुरुष र अन्तर्लिङ्गी व्यक्तिहरुको बारे थोरैलाई मात्र ज्ञान छ र ज्ञान भएका हरुमा पनि उनीहरुको अस्तित्वप्रति समाजले घृणा भाव उत्पन्न गराइदिएकाले यो समूहलाई हेर्ने दृष्टिकोण अत्यन्त नकारात्मक छ ।

नेपालको संविधानमा कुनैपनि व्यक्तिलाई निजको उत्पत्ति , जाति , समुदाय , पेशा , व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने भनेर स्पष्ट उल्लेख भए तापनि नियम कानुनका कुरा आम मानिसको र समाजको चेतनामा प्रभाव पार्ने खालको कानुनी व्यवस्था छैन । जसकारणले गर्दा यस्ता समूदायका व्यक्तिहरु सधैं समाजबाट उपेक्षित हुनुपर्ने , समाजबाट डराउनुपर्ने , आफ्नै परिवार आफन्तबाट छि ःछि दुरदुर हुनपर्ने जस्ता लाजमर्दो अवस्थाबाट हरेक पल गुज्रिन बाध्य छन् । अझ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई लिंगको महलमा अन्य जनाइ नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका–२०६९ बनेपनि सीमित व्यक्तिले बाहेक अरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । जसका कारण उनीहरुले प्राप्त गरेका शिक्षादिक्षा र क्षमताले गति प्राप्त गर्न सकेका छैनन् । अझ यही देशमा जन्मिएर आफू यो देशको नागरिक हुँ भन्ने औपचारिक एवम् आधारभूत प्रमाण – नागरिकता प्राप्त गर्न पनि SRS (सेक्स रि–असाइनमेन्ट सर्जरी) रिपोर्ट माग गरिने जस्तो दुःखद अवस्था छ भन्ने कुराले राष्ट्रका पदस्थ व्यक्तिहरुको ज्ञान र चेतनामा प्रश्न उठाउँछ ।

हाम्रो पूर्वीय दर्शनले ओतप्रोत समाज , जुन दर्शनले आत्मा नै सर्वश्रेष्ठ हो र शरीर केवल एउटा माध्यम मात्र हो सोच्छ , त्यही समाजले मान्छेको शारीरिक बनावट र प्रकृतिलाई लिएर हेला , घृणा र वितृष्णाको जन्जाल फैलाउनु सोच्दैमा दयनीय एवम् निन्दनीय छ । हिन्दु दर्शनहरुमा तृतीय प्रकृति भएका व्यक्तिहरुको बारेमा उल्लेख गरिएको छ र देवी देवताहरुले पनि तृतीय प्रकृति रुप धारण गरेका प्रशस्त उदाहरण छन् जुन रुप हरुलाई हामी सम्मानपूर्वक पुजा अर्चना गर्दछौं । जस्तै : शिवको अर्धनारेश्वर रुप , हरिहर ( शिव र विष्णुको अवतार ) , बहुचरा माता ( ट्रान्ससेक्सुआलिटी सङ्ग जोडिएकी माता ), भगवती देवी ( क्रस ड्रेसिङसङ्ग सम्बन्धित माता ) , गधाधर (पुरुष रुपमा राधाको अवतार ) , त्यस्तै महाभारतका पात्र शिखण्डी , बृहनल्ला , इरावन आदि। देवी देवताका यी रुपहरुलाइ एकातर्फ सम्मान र पूजा गर्दागदै अर्कोतर्फ सोही यस्ता प्रकृतिका व्यक्तिहरुलाइ समाजबाट अपहेलित गर्नुले मानवीय विवेक र चेतनशीलतामा प्रश्न खडा गर्दछ । नेपालको सन्दर्भमा शिक्षाको कमी , अविकसित चेतना, पितृसत्तात्मक मानसिक संरचनाले गर्दा मानिसलाई व्यक्तिको रुपमा मात्र नभएर उसको जात , धर्म , शारीरिक बनोट , लिङ्ग र लैङ्गिक प्रकृति आदिको आधारबाट हेर्ने र बुझ्ने गरिन्छ , जुन एकदमै गलत छ ।

आफू स्त्री ,पुरुष वा अन्य के भएर जन्मिने यो मनुष्यको वशमा छैन । जन्मिएपछि नमरुन्जेल सम्मका कर्म मात्र हाम्रा वशमा छन् । तसर्थ , लिङ्ग, रुप , शारीरिक बनावट , लैङ्गिक प्रकृतिका आधारमा नभइ, एक मनुष्यले अर्को मनुष्यलाई केवल मनुष्यको वा व्यक्तिको नाताले हेर्ने संस्कार बसाउन जरुरी छ ताकि हामी सम्मका पुस्ता मात्र नभएर भावी पुस्ताहरु पनि यही अज्ञानताको दलदलमा फसेर अँध्यारो र उज्यालो बीचको दोसाँध चेतना लिएर जीवन बिताउन नपरोस् । त्यसका लागि अबको समाज “लैङ्गिक– न्याय युक्त समाज“ हुन आवश्यक छ । त्यसभन्दा माथि हाम्रो चेतना प्रगतिशील एवम् मानवतावाद उन्मुख हुनुपर्छ जसका लागि राष्ट्रका हरेक व्यक्ति चेतनशील साक्षर हुन अपरिहार्य छ ।